‘सस्तोमा जग्गा मिलाइदिन्छु’ भन्दै छिमेकीले बोलाए, होटलमा पुगेपछि ३२ लाख लिएर फरार - theoceannews.com

‘सस्तोमा जग्गा मिलाइदिन्छु’ भन्दै छिमेकीले बोलाए, होटलमा पुगेपछि ३२ लाख लिएर फरार

झापामा ‘सस्तोमा जग्गा मिलाइदिन्छु’ भन्दै बैना रकम लिएर भागेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ। २०७९ चैत ३० गते बिहीबार दिउँसो अर्जुनधारा नगरपालिका ११ बसपार्कस्थितमा रहेको दुई कट्ठा जग्गा ‘सस्तोमा बिक्री भइरहेको छ, खरिद गर्न आउनू’ भन्दै बोलाएर रकम लिएपछि उनीहरू फरार भएका थिए।

कमल गाउँपालिका ५ का ५२ वर्षीय बिजय राईसहित चार जनाले मोरङको उर्लाबारी ४ का विष्णुमाया सापकोटालाई अर्जुनधारा ११ मा बोलाएर बैना कागजात समेत नगरी विष्णुमायाको साथमा रहेको ३२ लाख रुपैयाँ लिई फरार भएका थिए।

वियज विष्णुमायाका छिमेकी समेत हुन्।

उनीहरू पैसा लिएर भागेपछि पीडितले इलाका प्रहरी कार्यालय अनारमनी झापामा खबर गरेका थिए। त्यसलगतै अनारमनीबाट प्रहरी टोली खटिएको थियो। रकम लिएर फरार दुई जना इलामतर्फ गएको सूचना प्रहरीले पाएको थियो।
जिल्ला प्रहरी कार्यालय इलामसँग समन्वय गरेर शुक्रबार इलामको पुरानो बसपार्कस्थित देउराली होटलबाट पक्राउ गरेको झापाका प्रहरी प्रमुख एसपी दुर्गाराज रेग्मीले जानकारी दिए।

रामेछापको देउराली गाउँपालिका २ घर भई भक्तपुर बस्ने ३९ वर्षीय राजेश श्रेष्ठ र पाँचथरको मिक्लाजुङ घर भई काठमाडौं बस्ने ५२ वर्षीय जनक रेग्मीलाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट प्रहरीले १४ लाख ६५ हजार रुपैयाँ पनि बरामद गरेको छ।

सोही घटनामा मोरङको बेलबारीका ६ घर भई झापा बस्ने ५५ वर्षीय रणबहादुर पोख्रेल र झापाको कमल गाउँपालिका ५ का ५२ वर्षीय विजय राईलाई अर्जुनधाराको थापा होटल एण्ड लजमा लुकेर बसेको अबस्थामा प्रहरीले शुक्रबार नै पक्राउ गरेको छ।

उनीहरुको साथबाट प्रहरीले १३ लाख रुपैयाँ बरामद गरेको छ।

यसरी बन्यो ठगीको योजना
ठगीको योजना सुरूमा विजय राई र रणबहादुर पोख्रेलले बनाएका थिए। विजय राईले आफ्नै गाउँकी विष्णुमाया सापकोटालाई भेटी झापाको अर्जुनधारा नगरपालिका ११ स्थित नयाँबसपार्कमा २ कट्ठा जग्गा रहेको सुनाए।

उनैले सस्तोमा जग्गा मिलाइदिने विष्णुमायालाई विश्वासमा पारे।

विजयले जग्गा खरिद गर्ने मान्छे तयार भएपछि राजेश श्रेष्ठ र जनक रेग्मीलाई ‘जग्गा खरिद गर्ने मानिस आउँदैछन्’ भनि चैत २८ गते खबर गरे र उनीहरुलाई झापा बोलाएका थिए।

वियज राई, जनक रेग्मी, रणबहादुर पोख्रेल र राजेश श्रेष्ठ अर्जुनधारामा जम्मा भए। चार जनाले त्यसपछि ठगी कसरी गर्ने भन्ने योजना बनाए।

जग्गा खरिद गर्न तयार विष्णुमाया सापकोटा छिमेकी डम्बरबहादुर विश्वकर्मासँग ३२ लाख रुपैयाँ बोकेर विजयले बोलाएको नवज्योती होटलमा गइन्।

विष्णुमायालाई सुरुमा ‘बैना गर्नुपर्छ’ भनेर ३२ लाख रुपैयाँ मागे। तर बैनाको कागजात नै नबनाई रकम लिएर फरार भएका थिए।