उपप्रधानमन्त्रीले भन्नुभयो ‘म त सन्यासी हुँ’ - theoceannews.com

उपप्रधानमन्त्रीले भन्नुभयो ‘म त सन्यासी हुँ’

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रदुषित राजनीति सफा गर्न राजनीतिको मर्म बुझेकाहरुले मुलुकको नेतृत्व लिनुपर्ने बताउनुभएको छ । काठमाडौंमा आज आयोजित विशेष सामूहिक धम्मपूजा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रदूषित राजनीति सफा गर्न आवश्यक रहेकाले अहिलेको राजनीतिक व्यवस्थाको मर्म बुझ्ने व्यक्तिहरुले नेतृत्व लिनुपर्नेमा जोड दिनुभएको हो ।

‘राजनीतिक प्रणाली र व्यवस्था परिवर्तन हुनुु ठूलो महत्वको विषय त हो तर, त्यो नै पर्याप्त छैन’, मन्त्री श्रेष्ठले भन्नुभयो, ‘राजनीतिक र व्यवस्था परिवर्तनलाई सदुपयोग गर्ने र सही दिशातर्फ लैजाने हो भने यो राजनीतिक व्यवस्थाको मर्म बुझ्ने व्यक्तित्वहरुले नेतृत्व गर्नुपर्छ र आजको प्रदूषित राजनीतिलाई सफा गर्नुपर्छ ।’

त्यसक्रममा उहाँले राजनीति सफा गर्न सन्यासीहरु पनि राजनीतिमा आउनुपर्ने बताउनुभयो । आफ्नो नाममा घरजग्गा केही नभएकाले आफूलाई राजनीतिक संन्यासीको रुपमा तुलना गर्नुभएका मन्त्रीले भन्नुभयो, ‘संन्यासीहरु पनि राजनीतिमा आउनुपर्यो, राजनीति गर्नेहरु संन्यासी हुनुपर्यो ।’

राजनीति फोहोरीहरुलाई छाडेर देश सफा नहुने उहाँको बुझाई छ । भन्नुभयो, राजनीतिचाहिँ फोहोरीलाई छाडेर देश सफा होस् भनेर हुँदैन । मेरो विचारमा म पनि संन्यासी हुँ । मैले आफूलाई राजनीतिक संन्यासी नै भन्छु । मेरो कुनै आफ्नो जमिन भन्ने छैन, आफ्नो घर र व्यक्तिगत सम्पत्ति छैन । तपाईंहरु सबैलाई थाहा छ म विवाहित पनि छैन ।’